प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्रीस्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। श्रीस्वस्थानी व्रत कथाबारे पीएचडी गर्ने क्रिस्चियन धर्मालम्बी अमेरिकी जेसिका वान्थाईन विरकेन्होल्जसंग धेरै पहिले लिईएको अन्तर्वार्ता प्रकाशित गरिएको छ ।
वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो ।
त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो । उहाँले दक्षिण एशियाका महिलाहरुको परम्परा विषयमा विद्यावारिधी गर्नुभएको थियो ,यसै सिलसिलामा स्वस्थानी ब्रतकथामा पनि पीएचडी गर्नु भयो ।
त्यसै सिलसिलामा उहाँले साँखुको माधवनारायण स्वस्थानी व्रतको पनि अध्ययन अनुसन्धान गर्नुभएको थियो । प्रस्तुत छ उहाँसँग साँखुका संस्कृतिप्रेमी प्रविणराज श्रेष्ठको घरमा संस्कृति परम्परा र माधवनारायण स्वस्थानी व्रतका विषयमा लिईएको समसामयिक अन्तर्वार्ता ।
– तपाइँ पहिलोपटक साँखुमा कहिले आउनुभएको थियो ?
म सन् १९९९ मा पहिलो पटक बीए पढ्दै गर्दा साँखुमा आएको थिएँ । त्यत्तिखेर मैले दक्षिण एशियामा महिला परम्पराबारे अध्ययन गर्ने सिलसिलामा म यहाँ आएको थिएँ । पछि मैले दक्षिण एशियामा भाषा र सभ्यताबारे विद्यावारिधी (पीएचडी) गरेको थिएँ ।
– तपाइँ नेपालको कुन कुन सहर घुम्नुभएको छ ?
मैले काठमाडौँ, साँखु, भक्तपुर, पाटन, जनकपुर लगायतका साँस्कृतिक सहरहरु घुमेको छु । साथै तराईका कतिपय जिल्लाहरुमा पनि पुगेको छु । मलाई राम्रोसँग सबै जिल्लाहरुको नाम मलाई सम्झना छैन । विशेषगरि मैले तराईका जिल्लाहरुमा मनाईने जितिया, छठ, तीज, विवाह पञ्चमी, अनि साँखुको माधवनारायण स्वस्थानी व्रत सम्बन्धी अध्ययन गरेको थिएँ । त्यसमा पनि मैले स्वस्थानी व्रत लाई अन्य चाड पर्व र व्रतहरुको तुलनामा अति उत्कृष्ट र कठिन व्रतका रुपमा पाएकी छु । यो व्रत पूजा दक्षिण एशियाकै उत्कृष्ट व्रत पूजा हो ।
– तपाइँले गर्नुभएको अनुसन्धान अनुसार सबैभन्दा पुरानो स्वस्थानी कति वर्ष पुरानो रहेको छ ?
–सम्भवत ४४१ वर्ष अगाडिको पुस्तक हुनुपर्छ । त्यो पुस्तक ने.सं. ६९३ को स्वस्थानीको पुस्तक हो । त्यसमा स्वस्थानीको व्रत सम्बन्धी पूजा विधीहरु २ दिन र १ रातको मात्रै वर्णन गरिएको छ । त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने १ महिनाको व्रत पूजाको वर्णन गरिएको पाएको छु ।
-स्वस्थानी व्रतमा छुवाछुतको व्यवस्था तपाइँलाई कस्तो लाग्यो ? त्यहाँ विभिन्न जातिका मानिसहरुलाई अछुतको रुपमा व्यवहार गरेको पाईन्छ नि !
म खुल्ला समाजको मान्छे । अनि म क्रिश्चियन धर्मावलम्बी त्यसैले मैले अर्को धर्म र संस्कृतिबारे बोल्दा अलिकति विचार पु¥याउनै पर्ने हुन्छ । तर पनि मलाई व्यक्तिगतरुपमा केही कुराहरु अप्ठ्यारो महसुस पनि भएको छ । मलाई लाग्छ यो परम्परा र संस्कृति पनि सदियौँ देखि अगाडि बढिरहेको र यहाँको समाजले स्विकारेको देखिएको हुँदा मलाई कुनै आश्चर्य लागेन । सम्भवतः यो व्रत पूजा चलाएको समयमा यस्तो खाले व्यवस्था जरुरी थियो कि ! फेरि यो व्रत अत्यन्त कठिन व्रत भएको हुँदा यस व्रतपूजामा केही कठिन र गाह्रो साह्रो नीति नियम बनेको पनि हुनसक्छ । तर मैले त्यस्तो विशेष केही कुरा लिखितरुपमा भने पाईन । मैले अध्ययन गरेको समय १९९९ मा र आज २०१४ मा हेर्दा केही फरक महसुस समेत गरेको छु ।
–स्वस्थानी व्रत पूजा सम्बन्धी अध्ययन गर्ने क्रममा आफूलाई कस्तो महसुस भयो ?
रमाइलो अनुभव भयो । तर व्रत पूजामा सरिक व्रतालुहरुलाई गाह्रो भएको देख्दा आफूलाई पनि यो व्रत वास्तवमै कठिन भएको महसुस भयो ।