पहिलो पटक महिनावारी हुदा केक काटेर सेलिब्रेशन

खेल्दै कुद्दै गरेकी प्रदिष्णा सुवेदी (११) लाई पुस २९ गते अचानक ढाड दुखेजस्तो भयो । शरीरमा अचानक केही फेरबदलको महसुस हुन थालेपछि वासरुम गइन् । त्यहाँ पुगिसकेपछि थाहा भयो, उनलाई मासिक श्राव (महिनावारी) भएको रहेछ । त्यतिबेला साँझ करिब ५ बजेको थियो ।पाँच कक्षामा पढ्दै गरेकी प्रदिष्णाको त्यो पहिलो मासिकश्राव अनुभव थियो । आफूलाई ‘पिरियड’ हुन सुरु भएको सुनाउन उनी आमा कोपिला भण्डारी कहाँ पुगिन् र भनिन्, ‘मलाई पिरियड भयो ।’

त्यसपछि कोपिलाले सेनिटरी प्याडसहितको बन्दोबस्त गरिदिइन् । छोरीको महिनावारी खुसीमा परिवार सामेल मात्रै भएनन् । साथीभाइ जम्मा भएर ‘सेलिब्रेसन’ नै चल्यो । त्यही दिन साँझ प्रदिष्णाको नाममा केक आइपुग्यो । त्यहाँ लेखिएको थियो, ‘ह्याप्पी फस्ट पिरियड माई बेबी !’

पोखरा विरौटाकी प्रदिष्णालाई त्यो क्षण वास्तवमै खुसीको दिन थियो । ‘यसै पनि केक मलाई खुब मन पर्छ । मेरो फर्स्ट पिरियडमै केक ल्याएर सेलिब्रेसन गरिदिए पछि झनै खुुसी भएँ,’ उनी भन्छिन् । ‘फर्स्ट पिरियड’ सेलिब्रेसनमा साथ दिन साथी पनि आउँदा उनको खुसी झनै दोब्बर बढ्यो ।

प्रदिष्णाले महिनावारी हुँदा छोइछिटो चलेको त्यसअघि सुनेकी मात्रै थिइनन्, देखेकै थिइन् । महिनावारी भएकोबेला कसैलाई भान्सामा छिर्नै नदिएको, नजिक पर्नै नदिएको उनको आँखा अगाडिकै घटनाहरु थिए ।

तर प्रदिष्णा ती डरबाट पहिले नै मुक्त थिइन् । ‘मलाई पहिले नै मम्मीले (महिनावारीबारे) भनिराख्नु भएको थियो, त्यस्तो केही भयो भने मलाई भन् है,’ प्रदिष्णा सुनाउँछिन्, ‘पहिलो दिन अलि धेरै ढाड दुखेको थियो । त्यसबाहेक अरु दुःख भएन ।’

भर्खरै

सम्बन्धित समाचार

error: