२० अर्ब काण्डले केपीकाे भागाभाग : सयाैँलाई पक्राउ पुर्जी, खाेज्दै प्रहरी पुग्याे बालकाेट सम्म हेर्नुहोस् ।

  • 1.3K
    Shares

ललितानिवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौ‌ं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

 

गत आइतबारयता पहिलोपटक ७७ जना, त्यसपछि ४५ जना र आज आठजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका स्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए। सरकारी जग्गा प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको छ।

 

ललिता निवास प्रकरण : जग्गा कति हो ? [मुद्दा चलेका र उन्मुक्ति पाएकाहरुको सूचीसहित]

 

१ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा

 

थप ६५ जनालाई जग्गा जफत गर्न मुद्दा

 

कुल २० अर्बको बिगो दाबी

 

आरोपितमध्ये ३ पूर्वमन्त्री, ३ पूर्वसचिव

 

काठमाडौँ

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको छ । यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तलाई पनि प्रतिवादी बनाएको छ ।

 

भ्रष्टाचार गरेको आरोपमा ११० जनालाई र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाइएको हो । स्रोतका अनुसार सबै प्रतिवादीमाथि मागदाबी गरिएको बिगोको कुल अंक २० अर्ब हाराहारी छ । अख्तियारले अनियमितता हुँदाका बेला तोकिएको जग्गाको न्यूनतम मूल्यांकन अंकलाई आधार मानी बिगो कायम गरेको हो ।

 

सूचना चुहावट हुन सक्ने जोखिम रहेको भन्दै अख्तियारका पदाधिकारी बुधबार बिहान ८ बजे नै अख्तियार पुगेका थिए । १३५ पेज लामो निर्णयपुस्तिकाबाट निर्णय भई ३६० पेजको आरोपपत्र दर्ता भएको छ । आरोपपत्रका साथमा ७५ थान सक्कल मिसिल पनि पेस भएको छ ।

 

अख्तियारले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका सांसद विजयकुमार गच्छदारमाथि ०६७ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लगाएको छ । आयोगले दीप बस्न्यातविरुद्ध अख्तियारको पूर्वप्रमुखका रूपमा नभई त्यसअघि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवका रूपमा रहँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

 

०७२ चैत १९ मा अख्तियारको आयुक्त नियुक्त भएका बस्न्यात ०७४ जेठ ८ मा प्रमुख आयुक्त बनेका थिए । उनले ०७४ माघ २८ मा अवकाश पाएका थिए । आफ्नै पूर्वप्रमुखविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो ।

 

बालुवाटारको जग्गामध्ये ०४९ सालसम्म ११२ रोपनी विभिन्न व्यक्तिका नाममा दर्ता भइसकेको थियो भने बाँकी जग्गा खाली थियो । खालीमध्येका बीच–बीचका विभिन्न टुक्रा व्यक्तिका नाममा दर्ता भएका थिए ।

 

त्यहाँ राजकुलो र बाटोसमेत थियो । उक्त जग्गा व्यक्तिका नाममा दर्ता गर्ने पटक–पटकको प्रयास विफल भएको थियो । योजना विफल भएपछि प्रधानमन्त्री निवास विस्तारको आवरणमा नक्कली मोही खडा गरी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोप गच्छदार र बस्न्यातमाथि थियो । बस्न्यातले प्रस्ताव तयार पारेका थिए भने गच्छदारले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सैद्धान्तिक स्वीकृति दिएका थिए ।

 

भौतिक योजना तथा निर्माण मन्त्रालयका कानुन उपसचिव विनोदकुमार गौतमविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर भएको छ । हाल जिल्ला न्यायाधीश रहेका उनी पनि निलम्बनमा परेका छन् । बहालवाला न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पनि पहिलो घटना हो । गच्छदार, बस्न्यात र गौतममाथि ९ करोड ६५ लाख रुपैयाँका दरले बिगो मागदाबी छ ।

 

पूर्वसचिव छविराज पन्त ललिता निवासको जग्गा नक्कली मोहीहरूलाई बाँड्ने निर्णय हुँदा भूमिसुधार सचिव थिए । मोहीका बारेमा निर्णय गर्ने आधिकारिक निकाय भूमिसुधार कार्यालय हुँदाहुँदै त्यसको अधिकार मालपोत कार्यालयमा खिचेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो ।

 

पन्त सचिवबाट अवकाश भएपछि खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए । उनको प्रस्ताव स्वीकृत गर्ने तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठमाथि पनि मुद्दा दायर भएको छ । उनीहरू दुवैमाथि ९ करोड ६५ लाख रुपैयाँका दरले बिगो मागदाबी छ ।

 

०६९ सालमा समरजंग कम्पनीको जग्गा पशुपति टिकिन्छा गुठीमा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोपमा सचिव दिनेशहरि अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । उनको प्रस्ताव तत्कालीन मन्त्री चन्द्रदेव जोशीले सदर गरेका थिए । दुवैमाथि ७ करोड ८ लाख रुपैयाँ बिगो मागदाबी छ ।

 

 

सरकारले अधिग्रहण गरेको जग्गा जफत भएको अर्थ लगाई फिर्ता गरेको आरोपमा अख्तियारले भूमिसुधार विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यमाथि ७५ लाख, प्रमुख मालपोत अधिकृत कलाधर देउजामाथि २ करोड २६ लाख, मालपोत अधिकृत सुरेन्द्र कपालीमाथि २ करोड २६ लाख, शाखा अधिकृत धर्म गौतममाथि ७८ लाख २४ हजार, नासु जगत पुडासैनीमाथि २ करोड २६ लाख, खरिदार युक्त श्रेष्ठमाथि २ करोड २९ लाख बिगो मागदाबी गरेको छ ।

 

भूमिसुधार विभागका महानिर्देशक रुद्रकुमार श्रेष्ठ, निर्देशक पुष्पराज उपाध्याय, अधिकृत इन्द्र ढुंगाना, प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे, नासु टीकाबहादुर बीसी, खरिदार जीवनाथ पोखरेल र समरजंग कम्पनीका नासु अर्जुन भण्डारीविरुद्ध करिब साढे १३ करोड रुपैयाँका दरले बिगो मागदाबी छ । नापी अधिकृत मोहम्मद साबिर हुसेन, नासु श्रीहरि पुडासैनी, खरिदार श्यामकुमार क्षत्रीमाथि ४२ लाख रुपैयाँ बिगो मागदाबी छ ।

 

मालपोत अधिकृतहरू हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्णप्रसाद पौडेल, नासुहरू प्रकाशनारायण भट्ट र टंकनाथ पौडेलमाथि ३२ लाख १९ हजार रुपैयाँ बिगो मागदाबी छ । मालपोत अधिकृत प्रेमबहादुर खापुङ, नासु अर्जुन खतिवडा, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, नापी अधिकृत जनकबहादुर भण्डारी, भूमिसुधार अधिकारी शंकर सुवेदीविरुद्ध ९ करोड ६५ लाख रुपैयाँका दरले तथा नापी अधिकृत कमल घिमिरे, सर्वेक्षक देवबहादुर लामिछाने र अमिन भरत अर्यालविरुद्ध ३२ करोड १९ लाख बिगो मागदाबी छ ।

 

अनियमितताका सूत्रधार मानिएका उपसचिव हुपेन्द्रमणि केसीमाथि ३० करोड ३९ लाख रुपैयाँ बिगो मागदाबी छ । भूमिसुधार मन्त्रालयका सहसचिव जितबहादुर थापा, सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, सरोजराज राजकर्णिकार, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती, इन्जिनियर राजेन्द्रमान श्रेष्ठमाथि ९ करोड ६५ लाख रुपैयाँका दरले बिगो मागदाबी छ ।

 

अख्तियारले गुठी संस्थानका मुख्य अधिकृत हरिबोल आचार्य, वरिष्ठ सहायक रामेश्वर विडारी, गुठी प्रशासक सेमन्तराज चापागाईं, सहप्रशासक हेमराज सुवेदी, सहसचिव तेजराज पाण्डे, सहायक प्रशासक तुलसी पोखरेल, उपप्रशासक हरिप्रसाद जोशी, गुठी प्रशासक बलिरामप्रसाद तेली, दिलीपकुमार भट्टमाथि ७ करोड ८ लाख रुपैयाँका दरले बिगो मागदाबी गरेको छ । त्यही दरले बिगो कायम गरी गुठी संस्थानका सहायक नवराज पौडेल, शैलेन्द्र पौडेल, जयप्रसाद रेग्मी, डिल्लीबजार मालपोतका नासु फणीन्द्र दाहाल, मणि राना, अधिकृत बद्रिबहादुर कार्की, उपसचिव लक्ष्मीनारायण उप्रेती, प्रमुख मालपोत अधिकृत दिनेशप्रसाद शर्मालाई प्रतिवादी बनाइएको छ ।

 

अख्तियारले सुवर्णशमशेरका छोरा तथा बुहारीहरू अनि जग्गाधनी भएका उनका सन्तानलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ । निधन भइसकेका व्यक्तिहरूलाई भने बिगो मागदाबी गरी जरिवानामा छुट दिएको छ । रुक्मशमशेर जबरामाथि ८ करोड २७ लाख रुपैयाँ बिगो मागदाबी छ । हाटकशमशेर राणामाथि एक करोड ३५ लाख बिगो मागदाबी छ । हेमाद्रशमशेर राणामाथि ४२ लाख रुपैयाँ बिगो मागदाबी छ । निधन भइसकेका हेमनमाथि एक करोड ३५ लाख, सुनितीमाथि ८ करोड ६९ लाख, शैलजामाथि ९ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी छ । मोही बनेका व्यक्तिहरू, डीएल डेभलपर्स प्रालिका कैलाशचन्द्र गोयलमाथि ५ करोड ४४ लाख बिगो मागदाबी गरेको छ ।

 

भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकालमाथि ३९ करोड २७ लाख बिगो मागदाबी छ । रामकुमार सुवेदीका साथै उनका परिवारका सदस्यहरू माधवी सुवेदी, उमाकुमारी ढकाल्नी र लक्ष्मी ढकालमाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गरेको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकालमाथि ३९ करोड २७ लाख बिगो मागदाबी छ भने उनकी पत्नी उमा ढकाल्नीमाथि ९१ लाख छोरी लक्ष्मीमाथि ३ करोड २८ लाख रुपैयाँ बिगो कायम गरिएको छ । रामकुमार सुवेदीमाथि ५२ करोड ५१ लाख र पत्नी माधवीमाथि ९१ लाख बिगो मागदाबी छ ।

 

बकस लिएको जनाई जग्गा घूस लिएको आरोपमा अख्तियारले १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । इन्द्रबहादुर थापा, शान्ति मल्ल, मिठुदेवी चापागार्इं, सरस्वती श्रेष्ठ, निर्मला श्रेष्ठ, मोहन भट्टराई, वैकुण्ठ शर्मा, खिमादेवी आङबुहाङ, शशिकला सुब्बा, विद्या पौडेल गौतम, सोदाकुमारी चापागाईं, भुवन चापागाईं, उर्मिला शाहविरुद्ध पनि मुद्दा दायर भएको छ । भूमाफिया भनिएका रामकल्याण अधिकारी र रामनाथ घिमिरेविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । यो सूचीमा भाटभटेनीका गुरुङसहित शोभाकान्त ढकाल र रामकुमार सुवेदी दोहोरिएका छन् । अख्तियारले जफत प्रयोजनका लागि भन्दै ६५ जना जग्गाधनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: