एमालेले के सोचेको थियो, के भयो ?

  • 284
    Shares

एमालेले के सोचेको थियो, के भयो ?

ओलीको व्यक्तित्वले चमत्कार हुन्छ भन्ने भ्रम समाप्त भएको छ, संस्था र गठबन्धनले शक्ति आर्जन गरिएको रहेछ भन्ने पुष्टि गरेको छ’

काठमाडौँ — व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजार उद्घाटन गर्दै गत १६ चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीको पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ ? एमाले क्विन्टल हो । गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँचवटा दलको गठबन्धनले के गर्छ ?’

 

स्थानीय निर्वाचन परिणामले भने एमालेलाई पहिलोबाट दोस्रो शक्तिमा ल्याइपुर्‍याएको छ । प्राप्त परिणाम र अग्रताका आधारमा एमाले एक सय ९७ पालिकाको नेतृत्वमा छ जबकि अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी गठबन्धनबीच पनि एमालेले दुई सय ९४ पालिकामा नेतृत्व लिएको थियो । अघिल्लो निर्वाचनमा ३९ प्रतिशत पालिकामा अगुवाइ पाएको एमाले यसपालि १२ प्रतिशत गुमाएर २७ प्रतिशतमा सीमित हुने सम्भावना छ ।

उता अघिल्लो निर्वाचनमा ३५ प्रतिशत पालिका जितेको कांग्रेसले यसपालि सुरुदेखि नै ४३ प्रतिशतमा अगुवाइ गरिरहेको छ । अघिल्लो पटक दुई सय ६६ पालिकाको प्रमुख पाएको कांग्रेसले यसपालि करिब ६२ पालिका थप्ने सम्भावना छ ।

 

त्यस्तै अघिल्लो पटक एक सय ६ पालिका जितेको माओवादीले पनि प्रतिशत १४ बाट १६ पुर्‍याउन लागेको छ । एमालेले भने करिब ८८ पालिका गुमाउँदै छ । सत्ता गठबन्धन दलबीच देशभरका एक तिहाइभन्दा पनि कम पालिकामा तालमेल भएको र ती पार्टीहरूबाट बागी उम्मेदवार पनि उठेकाले अन्तरविरोधको फाइदा हुन सक्ने आकलन एमालेको थियो ।

 

विशेषगरी काठमाडौं, पोखरा, वीरगन्ज महानगरपालिका र बहुसंख्यक उपमहानगर जित्ने एमालेको विश्वास थियो । तर, बुधबार रातिसम्म सबै ६ महानगरमा एमाले पछाडि छ । त्यस्तै ११ उपमहानगरमध्ये तीन उपमहानगरमा मात्र एमाले अगाडि छ । एमालेको आफ्नै प्रक्षेपण भने उत्साहजनक थियो । सत्ता गठबन्धनका साझेदार एक हुँदा पनि ५० प्रतिशत र अवस्था बिग्रिएमा ३३ प्रतिशत जित्ने एमालेको आन्तरिक सर्वेक्षण थियो । चुनावी अभियान सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले ६० प्रतिशत पालिका जित्ने दाबीसहित लिखित आधार प्रस्तुत गरेका थिए । ओलीले आफ्नो सरकारका १८ उपलब्धिलाई जितका आधारका रूपमा प्रस्तुत गरेका थिए । तर धरातलको वास्तविकताअनुसार मूल्यांकन र रणनीति बन्न नसकेकाले पराजित भएको एमालेकै नेताहरूले बताउन थालेका छन् ।

 

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अस्तव्यस्त भएर पार्टी चुनावमा गएको प्रतिक्रिया दिए । ‘यो निर्वाचन हाम्रा लागि अस्तव्यस्त लडाइँमा सिपाही गएजस्तो भयो,’ उनले बुधबार राति कान्तिपुरसँग भने, ‘हामीले चुनावको मुखमा व्यापक संख्यामा मान्छे प्रवेश गराएर पार्टी ठूलो बनायौं, तर व्यवस्थित र अनुशासित रूपमा परिचालन गर्न सकेनौं । जसका कारण अपेक्षाअनुसार परिणाम ल्याउन सकिएन ।’

भर्खरै

सम्बन्धित समाचार

error: