श्री स्वस्थानी व्रत कथा त्रयोदशो अध्याय :– श्री पार्वती विवाह वर्णन पढ्नु होस।।

  • 2.2K
    Shares

श्री स्वस्थानी व्रत कथा

 

त्रयोदशो अध्याय :– श्री पार्वती विवाह वर्णन

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।

 

ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–

र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।

ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो

यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।

श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–

मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।

सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा

वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।

यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायमिततेजसे ।

यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।

देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।

कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।

भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !

तहाँ उप्रान्त श्री स्वस्थानी परमेश्वरीको अनन्त महिमा लिएर पौष शुक्ल पूर्णिमा नजिकिँदै आउन थाल्यो । श्री पार्वतीजीले अघिल्लै दिन चतुर्दशी तिथीमा सखीहरुलाई साथ लिई हात गोडाका नङ काटी , स्नान गरी , पवित्र मन गरी , एकभक्त र एकचित्त गरी नित्य मध्यान्ह कालमा श्री महादेवजीको पूजा गर्न लागिन् । श्री विष्णुले बताएका विधि अनुसार नियमपूर्वक एक महिनासम्म पूजा गरेपछि माघ शुक्ल पूर्णिमा आइपुग्यो । त्यो दिन श्री विष्णु भगवानले वताउनुभएका सामग्रीहरु तयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा , जप , ध्यान , पाठ प्रार्थना गरिन् ।

 

उता मृगस्थलीमा रहेका देवराज इन्द्रले श्री पार्वतीले गर्नुभएको यो व्रत चाल पाएर प्रशन्न भई देवताहरुसित भने ः– “ हे देवगणहरु हो ! अब तारकासुर दैत्यको नाश हुने कारण बन्न लाग्यो किनकी हिमालयपुत्री पार्वतीले श्री महादेव स्वामी पाएपछि उनका गर्भदेखि पुत्र जन्मलान् । तिनै पार्वती पुत्रले हाम्रो वैरी तारकासुर दैत्यको वध गर्नेछन् । त्यसपछि हामीले हाम्रो अमरावती पुरीलाई हात पारी राज्य गर्न पाउने छौं । यतिबेला श्री महादेवजी सतीदेवीको शोकमा उत्तरापन्थमा गई काम , क्रोध , लोभ , मोह आदि त्यागी दशै इन्द्रियहरु बाँधी , तीनै आँखा चिम्लिई , परव्रम्हमा चित्त लगाई महान तपस्या गर्न लाग्नुभएको छ । वहाँलाई त्यो तपस्यामा वाधा गराई पुनः , काम , क्रोध , लोभ , मोहादिमा फर्काउने कुनै उपाय गर्नुपर्छ । ”

 

इन्द्रका वचन सुनी देवताहरुले एकमत भई भने ः–“ हे महाराज ! त्यो तपस्यामा बाधा गर्न कामदेव वाहेक अरु कसैले सक्दैन । यसकारण कामदेव गएर श्री महादेवको चित्तमा कामवाणको प्रहार गरुन् । ” देवताहरुको यस्तो सल्लाह पाएर “ कुरा उचित हो । ” भनी इन्द्रले कामदेवलाई ल्याउन भनी वायुलाई अह्राई पठाए । वायुले पनि तत्कालै त्यो काम गरे । वायुका साथ कामदेव आइपुगी इन्द्रलाई प्रणाम गरी सोधे ः–“ हे देवेन्द्र ! मलाई कति कामले बोलाइबक्सनुभयो । आज्ञा हवस् ।” अनि कामदेवसँग इन्द्रले भने ः–“ हे कामदेव ! विश्वम्भर श्री महादेव यसबखतमा उत्तरापन्थमा रही काम–क्रोधादि त्यागी सम्पूर्ण इन्द्रियहरु बाँधी परव्रम्हमा चित्त लगाई तपस्या गर्न लाग्नुभएको छ । वहाँविना यो विश्वव्रम्हाण्डको रक्षा अरु कसले गर्ला ? यसर्थ तिमीले श्री महादेव भएठाउँमा पुगी वहाँका हृदयमा कामवाण छोडी काम, क्रोध, लोभ, मोह , माया आदिमा प्रवेश गराऊ ।” इन्द्रका उस्ता वचन सुनी “हवस्” भनी आफ्नी स्त्री रतिलाई साथमा लिई कामदेव उत्तरापन्थमा पुगे ।

 

वहाँ पुगेर उनले श्री महादेवलाई शाष्टाङ्ग दण्डवत प्रणाम गरे । त्यसपछि धनुष्टङ्कार गरी , कानसम्म कामवाण खिँची श्री महादेवका बाँधिएका इन्द्रियहरुको मूल आधारसम्मका स्थानका मनलाई ताकी कामदेवले कामवाण छोडे । उक्त वाण गएर लाग्नासाथ श्री महादेवको गाँठो परेका इन्द्रियहरु खुल्न थाले र मन चञ्चल हुनथाले । अकस्मात यस्तो भएको चाल पाएर अति क्रुद्ध भई यताउती नजर घुमाउँदा आफ्ना सामु कामदेवलाई देख्नुभयो । त्यसैबेला तेस्रो नेत्रबाट क्रोधरुपी अग्नीज्वाला निस्केर गई तत्कालै कामदेवलाई भष्म पारिदियो ।

 

आफ्ना स्वामी भष्म भएको देखी कामदेवकी स्त्री रतिले नाना प्रकारले विलाप गर्दै श्री महादेवका पाउमा पुगी विन्ती गर्न लागिन् ः–“ हे जगदीश्वर ! यो अपराध मेरा स्वामीले गरेका होइनन् । तपाईका हृदयमा यो कामवाणको प्रहार ता इन्द्रका आज्ञाबाट भएको हो । हे दीननाथ ! मदेखि प्रशन्न हुनुभई यो अपराध क्षमा गरी मलाई स्वामी दान दिने कृपा गर्नुहोस् । हे दयासागर ! हे दुष्ट संहारक ! हे साधुसंन्त रक्षक ! हे शरणागत वत्सल ! हे अभयदाता ! तपाईंका महिमाको वर्णन गर्न हजार जिव्रा भएका शेषनागले पनि सक्दैनन् भने म एक स्त्रीजातिले कसरी सकुँली ? हे भक्तवत्सल ! मेरा स्वामीलाई जीवनदान दिई , मलाई विधवा जीवनबाट मुक्ति दिलाई , मेरो मन सन्तोष गराई मलाई आफ्ना पतिका साथ लगाईदिनुहोस् ।” भनी नाना प्रकारका विलाप गर्न लागिन् ।

 

यसरी रतिले अतिनै शोक गरी रुँदै कराउँदै स्तुति गरेको सुनी आशुतोष श्री महादेवको मन करुणाले भरियो र भन्नुभयो ः–“ हे रति ! तिमी अब धेरै शोक नगर । जे हुनु थियो सो भयो । किनभने विधिको विधान टर्दैन । म तिमीलाई तिम्रा स्वामी दिन्छु तर यस जन्ममा होइन । द्वापर युगका अन्त्यमा जब विष्णुको आठौं अवतार श्री कृष्णको रुपमा हुनेछ तब तिम्रा पति वहाँकै पुत्र प्रद्युम्न भएर जन्म लिनेछन् । त्यसबेला तिमी शम्वासुरका दैत्यका दरबारमा मायावती नामले दासीको काम गरेर बसेकी हुनेछ्यौ । त्यसैबेला तिमीले आफ्ना पतिलाई दश दिनका वालकको रुपमा प्राप्त गर्नेछ्यौ । त्यत्तिबेला तिमीले नारदजीबाट आज भएका यी सबै घटनाहरु तिमीले बुझ्नेछ्यौ र आफ्ना वालक पतिलाई पालनपोषण गरी हुर्काउनेछ्यौ । हे रति ! अहिलेलाई दुःख नमान । अब आफ्ना घर जाऊ । ” यसरी श्री महादेवबाट आफ्ना कल्याणका निम्ति भविष्यवाणी सुन्न पाएकी रति महादेवलाई शाष्टाङ्ग प्रणाम गरी फर्किइन् ।

 

हे अगस्त्य मुनि ! तहाँ उप्रान्त श्री महादेवजीले आफ्नी प्राण प्रिया सतीदेवीलाई सम्झी मृत्यु पश्चात कहाँ जन्म लिन पुगिन् होलिन् भनी ध्यानदृष्टिले हेर्दा हिमालयपुत्रीका रुपमा पार्वती नामलिई जन्मिएर श्री महादेव स्वामी पाऊँ भनी तीर्थ , व्रत , जप , तप , यज्ञ आदि गरी श्री विष्णुका उपदेशले श्री स्वस्थानी परमेश्वरीको उपासना गर्नलागेको थाहा हुन गयो । अब पार्वतीको चरित्र हेर्नुपर्यो भन्ने मन गरी श्री महादेवजी उत्तरापन्थबाट अन्तध्र्यान भई इन्द्रको रुप धारण गरी वज्र हातमा लिई , ऐरावत हात्तीमा चढी पार्वतीले व्रत गरिरहेको ठाउँमा पुग्नुभयो ।

 

जतिबेला श्री पार्वतीले एक महिनासम्म विधिपूर्वक , नियमपूर्वक , भक्तिपूर्वक व्रत बसी व्रत समाप्तीका शाङ्गेका दिन विधिवत पूजा सकी हातमा अध्र्यपात्र लिएर श्री महादेव स्वामी पाऊँ भनेर स्वस्थानी परमेश्वरीलाई अध्र्य अर्पण गर्दै स्तुति गर्दै थिइन् ः–“ हे ईश्वरी ! हे निरञ्जन निराकार ! तपाईंलाई कोटीकोटी नमस्कार छ । सम्पूर्ण तीर्थ पनि तपाईं , सृष्टि–स्थिति–संहारकर्ता पनि तपाईं , पञ्च महाभूत पनि तपाईं , सत्व–रज–तम त्रीगुण पनि तपाईं , यो व्रम्हाण्डका आत्मस्वरुप भइरहेकी आत्मस्वरुप भइरहेकी आशाशक्ति पनि तपाईं , कालस्वरुप पनि तपाईं , यस्ती तपाईंको वर्णन गर्न व्रम्हा–सरस्वती–शेषनागले पनि नसकेको , म कसरी सकुँली ? मेरो भक्तिद्वारा प्रशन्न हुनुहोस् ।”

 

यसरी जसै पार्वतीले स्तुति गरी , अध्र्य दिई प्रसाद झिक्न लागेकी थिइन् त्यसैबेला श्री महादेवजी इन्द्रको रुप लिएर त्यहाँ आइपुग्नुभयो । इन्द्र भेषधारी श्री महादेवलाई देखी पार्वतीले भनिन् ः–“ हे देवराज ! यो मैले गरेको स्वागत , आसन र पूजा ग्रहण गर्नुहोस् । ” यति भनेर पार्वतीले यथायोग्य पूजा गरिन् र हात जोडी विन्ती गरिन् ः– “तपाईं के कामले पाल्नु भएको हो ? आज्ञा होस् । ”

 

यो सुनी इन्द्रभेषधारी श्री महादेवबाट आज्ञा भयो ः–“ हे पार्वती ! तिमीले गरेको मेरो स्वागत , आसन र यथायोग्य पूजा पाएर म सन्तुष्ट छु । श्री महादेव स्वामी पाउने इच्छा गरी तिमीले यत्ति लामो व्रत बसी नियम पालना गरेकी रहिछौ । तर ती महादेव कस्ता छन् थाहा छ के त ? ती ता बौलाहा जस्ता , महाघृणी , सर्पको गहना भिरेका , कम्मरमा बाघको छाला बेह्रेका , साथमा भूत–प्रेत–प्रमथगण लिएका , बूढो गोरु चढेका , दाहिने हातमा डमरु लिएका , देब्रे हातमा त्रिशूल लिएका , विष–भाङ्ग–धतुरो खाई निर्लज्ज भई घुमफिर गर्ने , अघोर मूर्ति लिएर श्मशान वास गर्ने , यस्ता छन् । तिमी भने यस्ती कोमल पद्यपुष्प फक्रिएजस्ती सुन्दरी , तिमीलाई ती महादेव स्वामी हुन सुहाउँदैनन् । बरु सम्पूर्ण देवताका पनि राजा , मलाई स्वामी रोजेर स्वर्गकी रानी हुनपायौ भने धेरै राम्रो होला ।”

 

इन्द्ररुपी श्री महादेवले भनेका यस्ता वचन सुनी पार्वतीलाई एक्कासी रिस उठ्यो र लाललाल नेत्र पारी भन्न लागिन् ः–“ हे पापिष्ठ ! मैले श्री स्वस्थानी परमेश्वरीको व्रत र पूजा गरिरहेका यस्ता पुण्यथलोमा आई इन्द्रको जस्तो स्वर्गको राजा भएर देवाधिदेव श्री महादेवको निन्दा गरिस् । मेरा निम्ति यो सहन गर्न नसकिने कुरा पर्यो । अतः तँलाई अब म श्राप दिन्छु ।” भनी ओठ थर्थर कपाउँदै श्राप दिन तत्पर भइन् । यो देखेर अब पार्वतीले अब पक्कै श्राप दिनेछिन् भनी डराई इन्द्ररुपी श्री महादेवले हतारहतार भन्नुभयो ः–“ हे पार्वती ! म इन्द्र होइन । तिम्रो चरित्रको परीक्षा गर्न इन्द्ररुप लिई आएको म तिम्रै आराध्यदेव श्री महादेव हुँ । तिम्रो भक्ति देखी म सन्तुष्ट भएँ । अब मेरो ज्योति स्वरुपलाई दर्शन गर ।” यत्ति भनी ज्योतिस्वरुप परमात्मा श्री महादेव दर्शन दिनुभयो ।

 

श्री महादेवको दर्शन पाएकी श्री पार्वतीले हर्षले प्रफुल्लित हुँदै श्री महादेवलाई शाष्टाङ्ग प्रणाम गरिन् र भनिन् ः–“ हे आराध्यदेव जगदीश्वर ! मैले अघि वाल्यकालमा पनि हजूरको सेवा गरेँ । वटुक रुप लिई आएर यसैगरी परीक्षा लिई दर्शन दिई ‘श्री विष्णुका उपदेश अनुसार मेरो आराधना गर ।’ भनी हजूरबाट आज्ञा भएथ्यो । आज्ञा अनुसार श्री विष्णुलाई प्रशन्न गराई दर्शन पाएँ र उनै वैकुण्ठनाथ श्री विष्णु लक्ष्मीपतिका उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रत र त्यो महान व्रतको सम्पूर्ण विधि जान्न पाएँ । श्री विष्णुको कृपा र स्वस्थानी जगदीश्वरीको व्रत गरेको प्रभावले आज पुनः हजूरको दर्शन पाएँ । प्रभु अब यी स्वस्थानी परमेश्वरीका प्रसाद एकसय आठ एकसय आठ प्रसादका सामग्रीहरु मध्येबाट आठ आठका भाग दिनलाई विवाह नभैकन हजूरलाई कसरी टक्र्याऊँ ?”

 

हे अगस्त्य मुनि ! पार्वतीले भनेका सबै कुरा सुनिसकेपछि श्री महादेव प्रशन्न हुनुभयो र पार्वतीलाई मागी विवाह गर्न भनी हिमालय पर्वत छेउ पुगी “तिम्री छोरी पार्वती मलाई कन्यादान देऊ ।” भन्नुभयो । हिमालयपर्वतले श्री महादेवको आज्ञा सुनी आफ्नी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउनका निम्ति बडो कष्ट सही ब्रत, जप , तप , ध्यान गरेको बुझी मनमा ठूलो हर्ष मानी कन्यादान दिन मञ्जूर गर्दै आफ्नी स्त्री मेनकासित भने ः–“ हे प्रिये ! हामी धन्य रहेछौं । किनभने हाम्री पुत्री पार्वतीलाई कन्यादान थाप्न भनी श्री महादेवजी स्वयं आफै हाम्रो दैलो टेक्न आउनुभएछव् । अब कन्यादान गर्नुपर्छ । चाहिने सामग्री तयार गर ।” भनी अह्राए ।

 

त्यसपछि हिमालयले वषिष्ठ आदि कुलगुरु बृहस्पति , कुल पुरोहित र ज्योतिषीहरुलाई डाकी दिन , लगन , मुहूर्त , वार , नक्षत्र , बेला आदि बुझी अक्षय तृतीयाका दिन लगन ठहराई कन्यादान गर्ने निश्चय गरे । त्यसपछि स्वर्ग , मत्र्य , पाताल तीनै लोकका देवता ऋषि , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग र अप्सराहरुलाई निमन्त्रणा पठाए । यो बाहेक आफ्ना कुल , कुटुम्ब , छर–छिमेक इष्टमित्रहरुमा पनि छोरीका विवाहको निमन्त्रणा दिइयो ।

 

ठहराइएका दिनमा सबै निम्तालुहरु आए । अनि सबैजना यज्ञका वरिपरि बसे । चतुर्मुखी व्रम्हाले अघि सरेर यज्ञको शुभारम्भ गरे । ऋषिगणहरु सबैले सूर मिलाएर वेदऋचा पाठ गर्न थाले । एकातिर गन्धर्व र अप्सराहरु भेलाभई नाच्न र गाउन थाले । देवकन्या , ऋषिकन्या , नागकन्या , दैत्यकन्या , गन्धर्वकन्या , किन्नरकन्याहरु रङ्गिविरङ्गी वस्त्र र नानाथरीका गरगहना आदिले सिँगारिई योभन्दाऊ राम्री ऊभन्दा ऊ झन् राम्री भई पार्वतीका विवाहको यज्ञमण्डपको चारैतिर रही कन्यादानको रमाइलो हेर्न आए ।

 

पार्वतीका माता मेनकाले पुत्रीलाई श्रीखण्डका बुकुवा दली , अनेकौं सुगन्ध लेपन गराई , हीरा–मोति–मणि–माणिक्यादि नाना रत्न जडाउ गरेर गरगहना र रङ्गीविरङ्गी लुगा कपडाले सोह्रश्रृङ्गार गराई यज्ञमण्डपमा ल्याइन् । त्यसवखतमा अप्सरा र गन्धर्वह्रुले मङ्गलगान र वाद्य हुनेगरी शोभा बढाए ।

 

अनि शुभलगनको बेला हुन लागेकोले हिमालयराजले तिल कुश सहित पार्वतीको हात समाए । मेनकाले सुनको कमण्डलुले छोरीका हातमा जलधारा गरिन् । कन्यादानको शङ्कल्प शुभारम्भ भयो । त्यसैबेला हिमालयले विन्ती गरे ः–“ हे जगदीश्वर ! आजको यो शुभ लगनमा मेरी पुत्री हजूरलाई अर्पण गर्दैछु । हजूरको गोत्र कुन हो ? शाश्त्रमा गोत्रविना कुनैपनि कार्य निष्फल हुन्छ भनेको छ ।” हिमालयले सोधेको यो कुरा सुनी श्री महादेवले कुनै उत्तर नदिई घोसेमुण्टो लगाइरहनुभयो । हिमालयपर्वतले छोरीको हात समाइरहेर ज्वाईंका मुखतिर हेरेको हेर्यै भए । व्रम्हा , विष्णुसहित इन्द्रादि देवता , ऋषि , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग कसैले पनि यसै हो भन्न नसकी चूप लागी मुखामुख गरिरहे ।

 

त्यसैबेला नारद ऋषि देखा परे । उनले सतीदेवीको हाडका यन्त्र लिएका थिए अनि गाउँदै पनि थिए । शिवगीता गाउँदै र नाच्दै त्यो यज्ञशालामा आई उनी भन्न लागे ः–“ हे गिरिराज ! जसका मायाले यो व्रम्हाण्डको कहिले सृष्टि , कहिले स्थिति र कहिले संहार हुन्छ । कहिले एक स्वरुपबाट व्रम्हा–विष्णु–महादेव तीनरुप हुन्छन् । कहिले ती तीनै एकरुप पनि हुन्छन् । यिनै आदि पुरुष हुन् , यिनका न माता , न पिता , न जाति , न गोत्र , केही पनि छैन । सम्पूर्ण तेत्तीसकेटी देवताका पितामाता र चौध भुवनका समस्त ज्रीवात्माका हृदयमा रहेर पाप पुण्यका साक्षी भएका । यस्ता निरञ्जन , निराकार परमेश्वरको महिमा गाउन हजार जिव्रा भएका शेषनागले पनि सक्दैनन् भने अरु कसले सक्ला ? हे हिमालयराज ! मनमा कुनै सन्देह नलिई श्री जगदीश्वर परमपिता श्री महादेवजीलाई कन्यादान दिनुहोस् ।”

 

यसरी नारद ऋषिले भनेको सुनी त्यहाँ उपस्थित रहेका सम्पूर्ण देवता , ऋषि , यक्ष , गन्धर्व , किन्नर , नाग , दैत्य आदि सबैले “ नारदजीले भलो कुरा भनेका हुन् । यसमा कुनै सन्देह नमान्नुहोस् ।” भने । तब हिमालयपर्वतले श्री पार्वतीलाई श्री महादेवका हातमा कन्यादान दिनुभयो । श्री पार्वतीले पनि अघिसरी फूलको वरमाला लिएर श्री महादेवलाई तीनपल्ट परिक्रमा गरी श्री महादेवको गलामा वरमाला लगाइदिइन् र पाउमा ढोगिन् ।

 

हिमालयपर्वतले सम्पूर्ण देवता र अरु सबै आमन्त्रितहरुलाई भोजनले तृप्त गराई यथोचित दक्षिणा र वस्त्रादि दान दिएर सन्तुष्ट गराए । भोजन , आदर र मीठो बोलीव्यवहारले परिपूर्ण भएका सम्पूर्ण देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग , अप्सरा र अरु डाकेका सबै पाहुनाहरुले विदा माग्दै भने ः–“ हे हिमालयराज ! तिमी धन्य रहेछौ । अनि मेनकाको कोख पनि धन्य रहेछ । तिमी दुईजना जस्तो सप्तद्विपमा हुन दुर्लभ छ । तिमीहरुको जन्म सफल भयो । किनकी जुन पिनाकधारी श्री महादेवलाई ठूलाठूला योगेश्वरहरुले आफ्ना ध्यानदृष्टिले हेर्दा पनि दर्शन पाउन सक्दैनन् । त्यस्ता श्री महादेवलाई तिमीले ज्वाईं गराउन पायौ । अब हामी पनि आ–आफ्ना आश्रममा जान विदा माग्छौं ।”

 

आएका सबै निम्तालुहरुले यसरी भनेका सुनी हिमालयराज र मेनकाले पनि आदरका साथ प्रणाम गरी सबैलाई बिदा दिए । विवाहमा सामेल भई जान लागेका सम्पूर्ण देवता र अन्य सबै निम्तालुहरुले पनि श्री महादेवलाई शाष्टाङ्ग दण्डवत प्रणाम गरी क्रमशः विदा हुँदा भए ।

 

आगौं कथा अर्को अध्यायमा ।

 

इति श्री स्कन्द पुराणे

केदारखण्डे माघ महात्म्ये

कुमार अगस्त्य संवादे

श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां

श्री स्वस्थानी श्री पार्वती विवाह वर्णन नाम त्रयोदशोेअध्याय

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

 

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय

श्रीमान् दिनकर–किरण निबोधित–नव–

नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।

देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र

गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र

यत्राच्युतोदारकथाप्रसंग ।।

या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।

या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा

बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै

नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।

भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नम।

भर्खरै

सम्बन्धित समाचार

error: