जेष्ठ २९। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्केको बताएका छन्।
शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्बीसुब्बा गुरुङले दाबी पेश गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।
ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो,’ उनले ट्विटरमा लेखेका छन्, ‘अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।’
नेता भट्टराईले ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।
बिहीबार प्रदेशसभाबाट विश्वासको मत नपाएका गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दाबी गरेको बताइएको छ।
राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका हुन्।
गुरुङले पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको दाबी गरेका छन्। उनले बिहीबार प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
त्यसपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दाबी पेश गरेका थिए। नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दाबी पेस गरेका थिए।
गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन्। प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन्। कांग्रसको १५, माओवादी केन्द्रको सभामुखबाहेक ११, जनमोर्चाको ३ र जसपाको २ सांसद छन्। एक स्वतन्त्र सांसद छन्।