काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रले प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गरेका छन्।
सोमबार प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेतृत्व गरेको र जनयुद्ध जनआन्दोलनलाई अघि बढाउँदै पछिल्लो समय प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गरेका हुन्।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामन्तवादको विरुद्ध लड्न नयाँ कार्यदिशा नबनाएको भए र सो अनुसारको उत्पीडित वर्ग जाति क्षेत्र र समुदायलाई आग्रह नगरेको भए नेपालमा सामन्तवादको अन्त्य हुनेमा कल्पना समेत गर्न नसकिने बताए।
उनले पार्टी नेतृत्वले उठाएका मुद्दाहरू राष्ट्रको एजेण्डा बनेको र त्यही एजेण्डाका आधारमा देश चलिरहेकाले राजनीतिक नेतृत्व गर्ने माओवादी हो र अध्यक्ष प्रचण्ड नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा स्थापित गर्न नसक्दा विगतमा पार्टीमा अनेक खालका अन्यौलताहरू सिर्जना भएको बताए।
त्यस्तै उनले प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाका प्रतिनिधिलाई क्षमताको अभिवृद्धि गर्दै जनतासँग सम्बन्धी विभिन्न विधाहरूमा विश्लेषणात्मक समाचारहरू तथा सूचना प्रवाह गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।