लाखौ युवाले स्वदेशमै रोजगारी कहिले पाउँछन् सरकार? Sagar Bhattarai

  • 63
    Shares

 

लेखक:  Sagar Bhattarai

 

हामी युवा देशका खम्बा हौँ। यदि खम्बा ढल्यो भने देश नै ढल्छ। सामान्यतयाः युवा वर्गमा जोश, जागर, उत्साह र असीमित शक्ति हुन्छ भने उनीहरु शारीरिक र मानसिक दुवै रुपले उत्तिकै सबल हुन्छन्।

 

वास्तवमा कुनै पनि देशमा अन्याय, अत्याचार गर्ने शासकहरुलाई हटाएर जनताहरुलाई स्वतन्त्रता प्रदान गरी मुक्ति दिलाउने काम युवा वर्गका शक्तिले नै गर्दछ।

 

युवाले प्राप्त गरेको ज्ञान र सीपलाई राष्ट्रले सदुपयोग नगरेका कारणले दैनिक हजारौँको संख्यामा युवाशक्ति विदेश पलायन भइरहेको छ। यसलाई रोक्ने हामी युवाहरूको साझा कर्तव्य हो।

 

राजनीतिक अस्थिरता, गरिबी, चेतनाको अभाव, स्वदेशमै लगानीको तथा अवसरको कमि, सीपमूलक शिक्षाको अभाव आदिको कारण हाम्रो मुलुकको जनशक्ति कौडीको मूल्यमा विदेशमा पसिना बेच्न बाध्य भएका छन्। दुःख र पीडाका कहालीलाग्दा दिन भोग्न विवश भएका छन्।

 

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुनै बेला भनेको कुरा म दिनमा पाँच पटक सोच्न र कल्पना गर्न बाध्य हुन्छु। उनले भनेका थिए, ‘यदि नेपालमा अवसर पाउने हो भने हाम्रो देशमा विश्वका महान् व्यक्तिहरु जन्मिएका छन्, मात्र राज्यले चिन्न नसकेको हो। शेक्सपियर जस्ता त हाम्रो देशमा हलो जोतेका छन्, अल्बर्ट आइन्स्टाइन जस्ता विदेशीन बाध्य भएका छन्। अब्राहम लिंकन जस्ता व्यक्ति गोठालो गर्दै छन्। मेरो देशमा विश्वको सबै चिज पाउने स्वर्ग छ, मात्र चिन्न सक्नुपर्छ।’

 

मैले पनि महाकविको कुरामा होमा हो थप्दै सधैँ एउटा कुरा भन्दै जान्छु ‘यदि अल्बर्ट आइन्स्टाइन नेपालमा जन्मेका हुन्थे भनी उनी अल्बर्ट हुने थिएनन्।’

 

म एउटा कुरा दावाको साथ भन्छु कि नेपालका बौद्धिक शक्तिहरु अवसर पाए अल्बर्ट र न्युटन बन्न सक्छन् तर अवसरको कमिले गर्दा तिनै बौद्धिक शक्तिहरु आज विदेशीको घरमा सेक्युरिटी गार्ड बन्न बाध्य भएका छन्। आज हाम्रो देशरूपी भवन भत्किन आँटेको छ तर हाम्रो देशका युवाहरू त्यस भवनको मर्मत गर्नुभन्दा पनि विदेशीका घरलाई अझ सुन्दर र राम्रो बनाउन पुगेका छन्।

 

आजकाल त सामाजिक इज्जतका लागि भए पनि छोराछोरीलाई विदेशी पठाउने चलन नै चलेको छ। जो-कोही पनि सुत्दा विदेश पुगेको सपना देख्छ भने उठ्दा आफ्नै आखा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई देख्छ र कुरा गर्दा त झन् युरोप, अमेरिका, अस्ट्रेलियाको कुरा मात्र गर्दछन्। देश विकासको गति कछुवाको गतिमा मात्र सीमित रहेको छ भने हामी विमानस्थलको बाटो ताकिराखेका छौँ। यो त एउटा रोगजस्तो भएको छ, जसले सबै युवा वर्गलाई सिकिस्त बनाएको छ।

 

 

अहिले हाम्रो देशका युवाहरू विदेशी रहेका छन्, गाउँहरु बिरानो र खाली भइरहेका छन् अहिले त गाउँमा मर्दापर्दा मलामी जाने युवाहरूको अभाव भइसकेको छ। हामी सबै भौतिक रुपमा यही भएता पनि हाम्रो लाखौं युवाहरूको मस्तिष्क युरोपका गल्लीहरुमा भौतारी रहेका छन्। के यो मानसिकता सही हो त ? के हामी युवाले यसै गरिरहने हो भने हाम्रो देश विकासतर्फ लम्केला त ?

 

हामी सबैलाई अवगतै नै भएको कुरा हो, दोश्रो विश्वयुद्ध पछि ध्वस्त भएको जापानलाई युवाशक्तिले नै हराभरा बनाएको हो। दक्षिण अफ्रिकाबाट रंगभेदी नीतिलाई समाप्त पार्न पनि नेल्सन मन्डेलाले युवावर्गलाई नै साथ लिएका थिए। भारतलाई स्वतन्त्र बनाउन महात्मा गान्धीले पनि युवाशक्तिलाई नै अघि सारेका थिए।

 

यसैगरी नेपालको सन्दर्भमा हेर्ने हो भने पनि अनेकौँ ऐतिहासिक जन-आन्दोलन युवाबाट सफल भएका थिए। त्यसैले प्रत्येक राष्ट्रले आफ्नो देशमा भएका युवाशक्तिलाई सही मूल्यांकन गरी राष्ट्र निर्माणमा लगाउन आवश्यक छ।

 

युवामा पसिनाले मोती फलाउन सक्ने, ज्योति जगाउन सक्ने सामर्थ्य भएता पनि देशको केही अस्थिर राजनीतिका कारण युवा वर्गको शक्ति खेर गइरहेको छ। आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि विभिन्न राजनीतिक दलहरूले युवा शक्तिलाई टुक्रा-टुक्रामा विभाजन गरेका छन्।

 

राष्ट्रले युवावर्गको शक्तिलाई बेवास्ता गर्नु हुँदैन, यदि यसो गरियो भने त्यो शक्ति राष्ट्र निर्माणको विपरीत दिशातर्फ भड्किन पनि सक्छ, जसको परिणाम अति भयावह पनि हुन पुग्छ।

 

हुन त वैदेशिक रोजगार नभइदिएको भए आज कति परिवारहरु राम्रो लुगा र पूरा पेट भर्न सक्दैनन् थिए होला। यदि कतार, दुबई, साउदी जस्ता खाडी मुलुकहरु नखुलिदिएको भए हामी जनताहरु केबल एक/दुई सय रुपैयाँको लागि काटाकाट गर्न पनि पछि हट्ने थिएनौँ कि।

 

वैदेशिक रोजगारले देशलाई केही हदसम्म नोक्सान भएता पनि जनताको आर्थिक स्थितिमा सुधार आएको छ। तर वैदेशिक रोजगारीमा गई देशको विकास गर्छु भन्नु सूर्यको बिम्बलाई हत्केलाले छेकी विश्वलाई अन्धकार बनाउँछु भनेजस्तै हो। त्यसैले राज्यले पनि त्यसका लागि व्यवस्था मिलाई दियो भने कम्मर कसेर तयार भएका युवाले देशको मुहार फेर्न सक्छन्।

 

देशका युवाहरू संगठित भएर क्रान्तिको आगो दन्काए भने समाजमा वर्षौंदेखि जरा गाडेर बसेको अन्याय, अत्याचार र दासस्ताका साङ्लाहरु चुडिन्छन्। अब हामीहरु बौद्धिक क्रान्ती सुरु गर्नुपर्छ, सँगसँगै आर्थिक क्रान्ति, कृषिक्रान्ति र विद्यार्थी क्रान्तिहरु सुरु गर्नुपर्छ।

 

विदेशीएका युवाहरूलाई स्वदेशमा नै अवसर दिलाउन सकियो भने हाम्रो राष्ट्र पनि जापान, अमेरिका, युरोपजस्तै सबल र सक्षम बन्न सक्छ। जसरी दोश्रो विश्वयुद्धपछि ध्वस्त भएको जापान जसलाई नेपालले केही बोरा गहुँ दिएर सहयोग गरेको थियो। आज त्यही जापान विश्वको कुनै पनि राष्ट्रलाई सहयोग गर्न पछि नहट्ने भएको छ। त्यसको कारण युवा सशक्तिकरण नै हो।

 

युवा वर्गमा युद्धले ध्वस्त विश्वलाई सपार्ने, बाढीले उजाड गाउँलाई पुनर्निर्माण गर्ने, भूकम्पले खण्ड-खण्ड बनाएको गाउँ तथा सहरलाई नवनिर्माण गर्ने अथाहा शक्ति रहेको हुन्छ। त्यसैले युवालाई राष्ट्रले वैदेशिक रोजगारीमा पठाउनुभन्दा स्वदेशमा नै अवसर दिलाउनु आवश्यक छ। देशको युवा जनशक्ति देशमा रहे मात्र देशको उन्नति र प्रगतिले फड्को मार्छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: