काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभए देश नचल्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “अहिले राजनीतिको मियो नै प्रचण्ड हो । उहाँ दुई दिन बाहिर जानुभयो भने यहाँ सुनसान हुन्छ । प्रचण्ड नभए देश चल्दैन ।”
प्रचण्डमा देश चलाउने भिजनमा केही कमी नभएको पनि उनले दाबी गरे । उनले थपे, “प्रचण्ड ३५ वर्षको उमेरमा टीका लगाएर नेता भएका हुन् त ? भिजन नभईकन कोही नेता हुन्छ ? भिजन केलाई भन्ने ? उखान टुक्का कि जोकलाई ? केपी ओलीले नारायणघाटमा भीड जम्मा गरेर हल्लाखल्ला गरे । के विचारको बहस भयो ? बहसका नाममा केपी बा भन्ने कि नभन्ने मात्रै भयो ।”
कम्युनिस्ट पार्टीको नेता बलपजफ्ती ठड्याएर नबन्ने पनि उनको भनाइ छ । उनले भने, “माओवादी कमजोर भयो भन्ने हुइयाँमात्र हो । त्यसको प्रमाण के छ ? यो देशमा नेता बन्न रहर त धेरैले गरे । तर प्रचण्डजस्तो नेता कोही पनि भएनन् । नेतृत्वको विकल्प आवश्यकताले खोजिने हो । कम्युनिस्ट पार्टी ज्योतिषी हेरेर चलाउने होइन ।”
पार्टीमा प्रचण्डका एकसे एक उत्तराधिकारीको पंक्ति तयार भएको पनि दाहालले बताए ।
उनले थपे, “केपीले के भने, त्यो मुख्य कुरा होइन । विगतमा नेता बन्ने रहर त धेरैले गरे । कम्युनिस्ट पार्टीको नेता बलपजफ्ती ठड्याएर बन्ने होइन । हामी सबै प्रचण्डका उत्तराधिकारी हौं । हामीसँग एक सय एक उत्तराधिकारी छन् ।”