काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।
बिहीबार राप्रपा, दोलखा कमिटीले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडी मुख देखाउन लायक नभएको बताए ।
राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताउँदै लिङदेनले राप्रपाले बोकेको मुद्दाको पक्षमा नै देशको अधिकांश जनता रहेको बताए ।
उनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए ।
लिङदेनले भने, ‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठूलो पार्टी भन्छन् । उनीहरु जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरुसँग कुनै आधार नै छैन ।’