काठमाडौं । नेकपा एमालेका नेता एवं नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दूरुपयोग गर्नेगरेको बताएका छन् ।
उनले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने बताए ।
महासंघले आफ्नो सम्मानमा बिहीबार आयोजना गरेको एक कार्यक्रममा बास्कोटाले अब खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताएका हुन् ।
उनले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताए । उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गरे ।
उनले भने, ‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर गणतन्त्रको गीत गाउँछौं । आफ्नो देशको मौलिकता बिर्सन्छौं ।
म राजाबादी भएको होइन । पञ्चायती व्यवस्था जोगाउन खेलाडीहरुको दूरुपयोग गरे पनि । हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरुलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो ।
अब गणतन्त्रमा चाँही खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन । राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्मविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नुपर्दछ । खेल क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्सी कारखानामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।’


नेता बास्कोटाले खेलाडीहरुको मनोबल बढाउने काम गरेको भन्दै आफ्नो पार्टीका अध्यक्ष केपी ओलीको प्रसंशा गरे । उनले खेलाडीहरुलाई अपराधिक गतिविधिमा मुछ्ने प्रयास गर्न नहुने बताए ।